RaraNews

सञ्जीव उप्रेती प्रकाशित : २०७६/२/६ गते
११३३ पटक

केही समयअघि मार्टिन चौतारीमा आयोजित ‘दलितको मुक्ति गैरदलितका आँखामा’ शीर्षकअन्तर्गतको छलफलमा भाग लिने मौका पाएँ । राजेन्द्र महर्जन तथा समृद्घि खरेलसमेत सहभागी उक्त छलफलको सहजकर्ता सुभाष नेपाली थिए । छलफलमा दलित तथा गैरदलित दुवैका मुक्तिबारे प्रश्न उठे । दलितको मुक्ति निम्ति गैरदलितले गर्नुपर्ने योगदानबारे पनि प्रश्न उठे । यस्तै प्रश्न आहुति, प्रदीप गिरि तथा शान्तिदेवी चमार सहभागी मार्टिन चौतारीको अर्को बहस ‘जात व्यवस्थाको अन्त्यबिना दलितको मुक्ति सम्भव छ ?’ मा पनि उठे । विषय महत्त्वफूर्ण छ किनकि अहिलेको आवश्यकता दलित मुक्तिको मात्र होइन, महिला मुत्तिको मात्रै पनि होइन । महिला, पुरुष, दलित, गैरदलितलगायत सम्फूर्ण समाजको मुक्तिको हो ।

दलित र गैरदलित मुक्तिका मुद्दालाई एउटै बाकसमा राखेर हेर्न सकिँदैन । दलितले युगौँदेखि राजनीतिक, आर्थिक र सांस्कृतिक उत्पीडन खेफ्दै आएकाले तिनको मुक्तिको मुद्दा बढी जटिल छ । गैरदलितको मुक्तिको मुद्दा पनि छ, तर अलिक फरक किसिमको ।

गैरदलितको मुक्तिको विषयलाई म एकअर्कासित गाँसिएका दुई अवधारणासित जोडेर बुझ्ने गर्छु, संरचनात्मक लाभांश (स्ट्रक्चरल डिभिडेन्ड) र संरचनात्मक अन्धता (स्ट्रक्चरल ब्लाइन्डनेस) । यी दुवै अवधारणालाई बुझ्न–बुझाउन मैले आफ्नै ‘लोकेसन’ बारे छलफल गर्नुपर्ने हुन्छ । प्रायः प्राज्ञिक तथा विश्लेषणात्मक लेखनमा लेखकको ‘ लोकेसन’ (आर्थिक, राजनीतिक, सामाजिक धरातल) लाई लुकाउने चलन छ । कतिपय अवस्थामा लेखकले ‘म’ शब्द प्रयोग गरेको पनि राम्रो मानिँदैन । यस्तो प्रयोगले विश्लेषकलाई तटस्थ हुन दिँदैन भन्ने मान्यता छ ।

मलाई लाग्छ, सामाजिक न्यायबारे लेख्ने–बोल्ने जोसुकै (चाहे त्यो गैरदलित होस् वा दलित, महिला होस् वा पुरुष) ले आफ्नो व्यक्तिगत लोकेसनलाई ‘फोरग्राउन्ड’ गर्नु अति आवश्यक छ । यसो नगरे लेखकको भाषा ‘भगवान’ को जस्तो सुनिन थाल्छ । ‘भगवान’ को मात्र कुनै लिंग, जाति, वर्ग वा अन्य ‘ लोकेसन’ हुँदैन । भनिन्छ नि, निर्गुण, निराकार एवं सर्वव्याप्त !

यस लेखमा ‘भगवानको भाषा’ लाई परित्याग गर्दै आफ्नै लोकेसनलाई खोतल्ने जर्मको गरेको छु । मध्यम वर्गीय हुनु, ‘उपल्लो’ जातिको हुनु, काठमाडौँमा बस्ने विपरीत लिंगी पुरुष हुनुका विविध तथ्यले मेरो लोकेसन निर्माण गरेका छन् । उक्त तथ्यको संयोगले मलाई थुप्रै किसिमका संरचनात्मक लाभांश पनि उपलब्ध हुँदै आएका छन् ।

मलाई पुरुष हुनुको फाइदा प्राप्त भएको छ, बाहुन हुनु र मध्यम वर्गीय हुनुको फाइदा भएको छ । काठमाडौँमा बसोबास गर्नेर् भएकाले पनि भौगोलिक संरचनात्मक लाभांश उपलब्ध छ । यसबाहेक विपरीत लिंगी भएको हुनाले मैले जीवनमा कहिले पनि समलिंगीले खेप्नुपरेको तिरस्कार र त्यसबाट उत्पन्न हुने हीनभाव झेल्नुपरेन । मेरा आँखा, कान, नाक, हातखुट्टा अहिलेसम्म राम्ररी नै चल्ने भएकाले फरक क्षमता भएकाहरूले खेप्नुपरेका कठिनाइ पनि अनुभव गर्नुपरेन । अर्को शब्दमा भन्दा मलाई विभिन्न किसिमका संरचनात्मक लाभांश उपलब्ध छन् । यी कुनै पनि लाभांश प्राप्त गरौँ भनेर मैले सोचेको वा त्यस उद्देश्यतिर पुग्ने प्रयत्न गरेको थिइनँ । एउटा विषेश किसिमको जाति र वर्गसँग जोडिएको परिवारमा जन्मेकाले ती लाभांश अझै उपलब्ध हुँदै गए । मैले जीवनमा थोरबहुत जे–जति उपलब्धि हासिल गरेँ, त्यसमा यी विभिन्न किसिमका संरचनात्मक लाभांशले पक्कै ठूलो भूमिका खेलेका थिए र खेल्दै आएका छन् ।

जुन मानिसलाई जति बढी संरचनात्मक लाभांश उपलब्ध भयो, उसका संरचनात्मक अन्धता पनि साथसाथै मौलाउँदै जाँदा रहेछन् । मेरो जीवनमा पनि त्यस्तै भयो । सानो छँदा बुबाको सरुवा भइरहन्थ्यो, नेपालका त्यसबेला दुर्गम कहलिएका ठाउँमा । भोजपुर रहँदाका केही स्मृति मनमा अझै आलै छन् । हामी बस्ने मेडिकल क्वार्टरबाट स्कुल टाढा थियो । म सानामा बिरामी भइरहने हुनाले स्कुल जान सम्भव थिएन । दाजुभाइ, दिदीबहिनी नभएकाले मेरो भोजपुरको जीवन एकाकी किसिमको थियो । त्यसैले होला, समाजका धेरै लिखित र अलिखित नियम बुझ्न मलाई अलि बढी समय लाग्यो । खास गरेर जातबारे ‘सामाजिक सत्य’ हरू मलाई पछि मात्र थाहा भयो । यसबारे मलाई बुबाआमाले केही बताउनुभएन । सायद स्कुल जाने भएको भए चाँडै थाहा पाउँथेँ कि ?

साथीसंगी, दाजुभाइ, दिदीबहिनी नहुँदा मेरो प्रकृतिसित समय बिताउने बानी लाग्यो । एक्लै घुम्दै गह्रा ओर्लंदै जाँदा एक दिन एउटी केटीलाई देखेँ । त्यसबेला सायद म पाँच वर्षको हुँदो हुँ र उनी ६/७ वर्षकी । बिछट्टै मन पर्‍यो । अहिले सोच्दा लाग्छ, त्यो मेरो जीवनको पहिलो ‘क्रस’ थियो । पछ्याउँदै उनको घरसम्म पुगेँ । तर त्यहाँ पुग्दा उनका आफन्तले अप्ठेरो माने । मलाई तिर्खा लागेको थियो । पानी माग्दा छैन भने । त्यसपछि  भने, ‘ ढिलो भइसक्यो, बुबाआमाले खोज्दै हुनुहोला, चाँडै फर्कनू बाबु ।’ म अप्ठेरो मान्दै फर्किएँ ।

यसको केही दिनपछि अस्पतालमै काम गर्ने एक कर्मचारीकी श्रीमतीमार्फत थाहा भयो– मैले मन पराएकी केटीको परिवार ‘पानी नचल्ने’ जातको रहेछ । अहिले लाग्छ, सायद केटालाई पानी खान दिए ठूला जातकाहरूले आएर हाम्रा छोराको जात बिगारे भन्ने आरोप लाउलान् भन्ने तिनमा चिन्ता थियो कि ! के त्यसै चिन्ताले गर्दा नै तिनले मलाई पानी दिएका थिएनन् कि ? जात–प्रथाबारे यो मेरो प्रथम अनुभव थियो ।  यो घटनाको केही दिनमै हामी बसाइँ सर्‍यौँ र बुबा भोजपुरबाट झापा झरेर मेडिकल प्राक्टिस गर्न थाल्नुभयो । झापामा हजुरबुबाको प्रशस्त जमिन थियो र त्यहाँ धेरै श्रमिक काम गर्थे । त्यसबेला तिनीहरू कुन जातका हुन्, हामी र तीबीच कस्तो वर्गीय भिन्नता थियो भन्ने कुरा मेरो दिमागमै आउँदैन थियो । यो संरचनात्मक अन्धताकै अर्को उदाहरण थियो ।

पुरुष भएकाले ममा जेन्डरसँग जोडिएका केही संरचनात्मक अन्धता पनि थिए । मेरो दिमागमा यी कुरा आउँदैनथे । सायद यी कुरा बुझ्दा जीवनमा अप्ठेरो बन्ला भनेर आफैँ बुझ्न नचाहेको पनि हुन सक्छ । कुनै बेला महिला वा दलित मित्रहरूले मेरो पुरुष गैरदलित ‘ लोकेसन’ बारे प्रश्न गर्दा मलाई एकछिन झनक्क रिस उठ्ने गर्थ्यो । सोच्थेँ, म त सधैँ उदारवादी प्रकृतिकै मान्छे, नारी–पुरुष सबै समान हुन् भन्ने चाहन्छु । त्यहीअनुरूप लेख्ने–बोल्ने गर्छु । अनि मलाई नै किन यी आक्षेप ? त्यसैगरी मैले सधैँ कसैलाई उच्च जातको त कसैलाई तल्लो जातको बनाउने जाति–प्रथा नै उन्मूलन हुनुपर्छ भन्नेबारे बोल्दै आएको छु । यसै विषयमा केही अध्ययन/अध्यापन पनि गरेँ । जहाँसम्म मलाई थाहा छ, बुबाआमाले पनि दलितलाई शोषण गर्ने वा होच्याउने काम कहिल्यै गर्नुभएन । किन मित्रहरूका व्यंग्यवाण मतिर तेर्स्याएका ?

यस्तै अनुभूतिले केही गैरदलितलाई दलितबारे मुद्दा उठ्दा प्रतिरक्षात्मक बनाउँछ । दलितमाथि भएको उत्पीडनबारे कुरा उठ्नेबित्तिकै केही गैरदलितले भन्ने गरेको सुनेको छु । तर दलित समुदायभित्र पनि  विभेद छ । अनि विभेद कहाँ हुँदैन र ? अमेरिकामा समेत अश्वेत अमेरिकीले अझै विभेद खेप्छन् कुनै न कुनै रूपले । यस्तो किसिमको ‘तुलनात्मक’ तर्कले मानिसलाई आफैँप्रति अप्ठेरा प्रश्न तेर्स्याउनबाट रोक्छ । बरु ‘तुलना’ को माध्यमबाट उसले दोष अर्कोतिर सारिदिन्छ । यस किसिमका अभिव्यक्तिको आधारभूत सांस्कृतिक तर्क यस प्रकारको हुने गर्छ– हामी खराब हुन सक्छौँ तर हेर ती ‘अर्का’ हरू (दलितमाथि विभेद गर्ने अन्य दलित वा अश्वेतमाथि विभेद गर्ने श्वेत अमेरिकी) हामीभन्दा खराब छन् । त्यसैले ‘तुलनात्मक’ रूपले ती बढी खराबभन्दा हामी बढी बेस छौँ । यदि बेस छौँ भने हामीले आफैँलाई परिवर्तन गर्नुपर्ने आवश्यकता छैन । आफूले पाएको लाभांश र त्यो सँगसँगै आएका अन्धतालाई पनि बुझ्नुपर्ने आवश्यकता छैन ।

यसको मतलब दलित समाजभित्रका विभेदबारे कुरा गर्नुहुन्न भन्ने होइन । विभेद भनेको विभेद नै हो, जसले जसमाथि गरे पनि । त्यसको दलित, गैरदलित, महिला–पुरुषलगायत सबैले विरोध गर्नुपर्छ । उक्त विभेदतिर औँल्याउँदै ‘तुलनात्मक’ रूपले आफूलाई चोखो देखाउने प्रयत्न गर्नुभएन । पछि बुझेँ, दलित समुदायलाई मैले व्यक्तिगत रूपमा शोषण नगरे पनि मलाई गैरदलित हुनुका संरचनात्मक लाभांश उपलब्ध हुँदै आएकै छन् । के म मध्यम वर्गीय बाहुन पुरुष हुनु साटो निम्न वर्गको नारी, त्यसमा पनि झन् विकट ठाउँमा जन्मेको दलित नारी भएको भए अहिले यो लेख लेखिरहेको हुन्थेँ होला ? असम्भव केही छैन । आफ्नै मिहिनेतले संरचनामा धेरै तल परेकाहरूले पनि ठूल्ठूला काम गर्दै आएकै छन् । तर इमानदारीपूर्वक सोच्दा मलाई धेरै गाह्रो हुने थियो ।

जति अप्ठेरा प्रश्नको सामना गर्दै आफ्ना अन्धतालाई फुटाउँदै गएँ, आफ्नो मानवतासँग नयाँ साक्षात्कार गर्दै गएँ । मैले आफैँलाई नयाँ ढंगबाट बुझेँ, आफैँलाई परिवर्तित गर्दै लगेँ । मेरा लागि आलोचनात्मक चेतको यो एऊटा व्यक्तिगत सुरुआत थियो । तर यसको मतलब म मुत्त भइसकेँ भन्ने होइन । रूपान्तरणको बाटोमा अघि बढी रहने प्रयासमा छु । मेरा अझै अन्धता हुन सक्छन् । सामाजीकरण र त्यससित जोडिएका वैचारिकी (आइडियोलजी) वा मान्यताको आन्तरीकरण बाल्यकालदेखि हुँदै जाने हुँदा पुरुष, महिला, दलित, गैरदलितलगायत सबैका केही न केही अन्धता हुन्छन् । तीसित जीवनपर्यर्न्त भिडिरहनुपर्छ । खास गरेर तुलनात्मक रूपले बढी संरचनात्मक लाभांश पाएकाहरूले यसबारे झन् सावधान हुनुपर्छ । आफूलाई उदारवादी सम्झनेहरूले पनि ।

मेरो विचारमा गैरदलितको मुक्ति भनेको आफूले पाएको संरचनात्मक लाभांशप्रति सजग हुँदै आफ्नै संरचनात्मक अन्धताबाट मुक्त हुनु हो । यसो गर्न नसके गैरदलितले दलित मुक्ति निम्ति खासै योगदान गर्न सक्दैनन् । उनीहरू जतिसुकै उदारवादी भए पनि तिनीहरूको दृष्टि आफू बाहिर मात्र निर्देशित हुन्छ । उनीहरूले दलितलाई ‘माया, दया’ गर्दै तिनको उत्थानका निम्ति केही सानातिना योगदान गर्न सक्लान् । केही परोपकारी कार्य पनि गर्न सक्लान् । यस्तो योगदान वा परोपकारले तिनलाई उदारवादी हुनुको ‘किक’ वा आनन्दानुभूति पनि गराउन सक्ला । तर यस्तो उदारवादी–किक अन्ततोगत्वा तिनकौ आफ्नै आत्म–रूपान्तरण निम्ति बाधक बन्छ ।

आफैँले आफैँलाई अप्ठेरा प्रश्न सोध्दै दृष्टिलाई बाह्य जगततिर मात्र नभई आफैँतिर तेर्स्याउन सके मात्र आत्म–रूपान्तरण वा मुक्तिको बाटो खुल्न सक्छ । मैले पाउँदै आएका संरचनात्मक लाभांशले मेरो सामाजिक/सांस्कृतिक/राजनीतिक वा आर्थिक सफलतामा कस्तो योगदान पुर्‍याएको छु, के म गैरदलित नभएर दलित वा पुरुष नभए नारी भएको भए अहिले जे गरे त्यति गर्न सक्थेँ ? केही गर्नै सके पनि सफलता प्राप्तिको बाटो झन् अप्ठेरो हुन्थ्यो होला ? यस्ता प्रश्न आफैँतिर तेर्स्याउन थाले धेरै गैरदलित (पुरुषजस्तै) ले आफ्नै संरचनात्मक अन्धतालाई चिर्दै मुक्त हुनेछन् । त्यस्तो मुत्तिले तिनलाई दलित मुक्तिका लागि योगदान गर्न  सहयोग पुर्‍याउनेछ ।

सञ्जीव उप्रेतीले लेख्नु भएको यो लेख हामीले नेपाल साप्ताहिकबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्