RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१/२६ गते
१७१८ पटक

सप्तरी । विवाह गरेको दुई दिन नबित्दै प्रेमीका लिएर भागेका एक युवकका कारण सप्तरीमा आधा दर्जनभन्दा बढी दलित कुटिएका छन्। वडाअध्यक्षको अगुवाइमा उनीहरूमाथि कुटपिट गरिएको हो।

सप्तरीको अग्निसाइर कृष्णसबरण गाउँपालिका–५ का विलक्षण खंगका छोरा राजुले स्थानीय मनोजकुमार सिंहकी छोरी साक्षीकुमारीलाई भगाएको आरोपमा आफूहरूमाथि कुटपिट र अभद्र व्यवहार गरिएको पीडितहरूले बताए। दलित केटाले गैरदलित केटी भगाएको विषयमा छलफल गर्न मंगलवार मोहन खंगको घरमा छलफल बोलाइएको थियो।

सोही छलफलमा ‘तिमीहरू सबै मिलेर आफूभन्दा ठूलो जातकी केटी भगायौ’ भन्दै केटी पक्षले कुटपिट गरेको उनीहरूको आरोप छ। कुटाइ खाएका राजेश खंग, डम्बर खंग, जुक्तिया खंग, मोहन खंग, उनकी पत्नी धनमादेवी, छोरा रामचन्द्र र बुहारी सरोदेवी लगायतले प्रहरीमा उजुरी दिने तयारी गरेका छन्।

कानुन व्यवसायीसँग छलफल गर्न बुधबार राजविराज आएका पीडितहरूले वडा अध्यक्ष श्रीप्रसाद यादव, मनोजकुमार सिंह, गर्भी यादव लगायतको समूहले आफूहरूमाथि कुटपिट गरेको बताए। वडा अध्यक्ष यादवले राजुले साक्षीलाई भगाएको पुष्टि गर्दै आफूले कसैलाई कुटपिट नगरेको दाबी गरे।

‘नाबालक केटी भगाएको विषयमा करिब ४ सय जनाको छलफल बोलाइएको थियो,’ उनले भने, ‘छलफलकै क्रममा म घरतिर हिडेँ त्यसपछि के भयो जानकारी छैन।’ जिल्ला प्रहरी कार्यालय सप्तरीले भने घटनाको विषयमा प्रहरीलाई जानकारी नगराइएको जानकारी दिएको छ।

यसरी कुटपिटसम्म पुग्यो घटना 

विलक्षण खंगका छोरा राजुले बैसाख १३ गते विवाह गरे। उनको विवाह सप्तरीको सप्तकोशी नगरपालिका स्थित कमलपुरकी प्रमिला खंगसँग भयो। तर, १५ गते नै उनले प्रेमिका साक्षीलाई लिएर भागेपछि समस्या सुरु भएको थियो। राजु र साक्षीले विवाह गरेको पुष्टि नभए पनि उनीहरू सँगै भागेको हल्ला छ।

घरमा श्रीमती छाडेर राजु प्रमिकासँग भागेपछि केटी पक्षले राजुलाई हाजिर गराउन परिवारमा दबाब दियो। यही बीचमा राजुकी आमा दुर्घटनामा परेर अस्पताल भर्ना भएकी छन्। राजुको घरमा कोही नभेटेपछि केटी पक्षले गाउँलेहरूलाई निसाना बनाएको पीडितहरूको गुनासो छ।

‘छलफल गर्नुछ भन्दै खत्वे टोलका सबैलाई जम्मा हुन भनियो,’ मोहन खंगले भने, ‘जम्मा भएकालाई त्यहीँ र जम्मा नभएकालाई घर–घरमा पसेर कुटे।’ कुटपिटका क्रममा सबैसँग सादा कागजमा औंठाछाप समेत लगाएको उनीहरूले गुनासो गरे। जानकारी नै नभएको विषयमा अनाहकमा कुटाइ र दुर्व्यवहार खेप्नु परेको भन्दै उनीहरूले संलग्नलाई कारबाहीको माग गरेका छन्। जुक्तियाले भने, ‘महिला, बालबालिका कसैलाई छोडेनन्। उनीहरूलाई हदैसम्मको कारबाही हुनुपर्छ।’

दिनेश शर्माले लेख्नु भएको यो समाचार हामीले नेपाललाइभबाट सभार गरेका हौं ।

सोही घटनाबारेको समाचार इमेज खबरले यसरी लेखेको छ

सप्तरीका दलित समुदाय स्थानीय जनप्रतिनिधिबाटै कुटिएका छन् । अग्निसाइर कृष्णासवरण गाउँपालिका–५ झपकीका राजु खंगले सोही ठाउँकी साक्षी सिंहलाई भगाएपछि वडाध्यक्षसहितका व्यक्तिले गाउँका दलित समुदायलाई कुटपिट गरेका हुन् । पीडितहरु न्याय माग्दै सदरमुकाम राजविराज आएपछि घटना उजागर भएको हो ।

दलितले उच्च जातकी छोरी भगाएको भन्दै आक्रोशित बनेका वडाध्यक्षसहित व्यक्तिहरुले घरघर पसेर महिला र बालबालिकालाई समेत कुटपिट गरेको उनीहरु बताउँछन् । साक्षीलाई भगाएर कहाँ लगेको भन्ने गाउँलेलाई जानकारी नरहेको भन्दाभन्दै पनि सोध्न आएका वडाध्यक्षसहित व्यक्तिले कुटपिट गर्न थालेको उनीहरुको आरोप छ ।

वडाध्यक्षले गाउँभरिका व्यक्तिलाई कुटपिट गर्दै ४ देखि १० हजारसम्म जरिवाना तथा सहीछापसमेत गराएको उनीहरुको आरोप छ । दलित भएकै कारण गाउँका भद्रभलादमीबाट न्याय नपाएको भन्दै राजविराज आएका उनीहरुले दोषीलाई कारबाही हुनुपर्ने माग गरेका छन् । कक्षा ९ मा अध्ययरत राजु र साक्षी केही समयदेखि प्रेम सम्बन्धमा थिए ।

यता, वडाध्यक्ष श्रीप्रसाद यादवले गैरदलितको छोरी भगाएर समाजमा नमिल्ने कुरा गरेको बताएका छन् ।

यो समाचार हामीले इमेज खबरबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्