RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१/५ गते
१४४५ पटक

दमौली । अन्तरजातीय बिहे गरेको भन्दै शुक्लागण्डकी ८ ढोरफिर्दीकी हुमाकुमारी भुजेलका कारण उनको माइती पक्षलाई सामाजिक बहिष्कार गरिएको छ। छोरीले दलित युवकसँग बिहे गरेको भन्दै समाजबाटै विभेद गरेको हो। उनकी छोरी सुस्मिताले तीन वर्षपहिले दलित युवकसँग बिहे गरेकी थिइन्। अन्तरजातीय विवाहपछि माइती आउन थालेकी सुस्मिताका कारण भुजेल परिवारलाई सामाजिक कार्यमा बहिष्कार गर्न थालिएको छ।

दलित समुदायका युवकसँग बिहे गरेकी छोरीलाई माइत ल्याएको भन्दै आफू र परिवारलाई छरछिमेकको बिहेलगायत सामाजिक कार्यमा सहभागी हुन बन्देज गरिएको उनले बताइन्। ‘टोल छिमेकबाटै विभेद भइरहेको छ’, उनले भनिन्,‘विभेद गर्नेमाथि कारबाही होस्।’ आफूमाथि अन्याय भएको भन्दै उनले शुक्लागण्डकी नगरपालिकास्थित न्यायिक समितिमा उजुरी दिएकी छन्। टोलको एक विवाह भोजमा सहयोग गर्न पुगेकी उनले निमन्त्रणा भएको स्थानमा समेत सहभागी हुन नदिइएको उनले बताइन्।

उजुरी दिएको लामो समयसम्म पनि छलफल नभएको भन्दै भुजेलले न्यायिक समितिले समेत विभिन्न बहानामा न्याय दिन नखोजेको गुनासो गरेकी छन्। समितिमा उजुरी दिएपछि गाउँ छाड्नुपर्ने धम्की आएको पनि उनले जानकारी दिइन्। न्यायिक समितिकी संयोजक सविता रसाइलीले उजुरीमाथि तत्काल छलफल गर्ने प्रतिबद्धता जनाएकी छन्।

शुक्लागण्डकी नगरपालिका–८ का वडाध्यक्ष कृष्णप्रसाद रेग्मीले पीडकमाथि कारबाही हुनुपर्ने भन्दै पीडितले न्याय महसुस गर्ने गरी छानबिन हुनुपर्ने बताए। छुवाछुतजस्ता घटना गाउँघरमै मिलाउने गरिएकाले अदालतसम्म नआउने जानकार बताउँछन्। चालु वर्षमा एउटा मात्र छुवाछुतसम्बन्धी मुद्दा दर्ता भएको तनहुँ जिल्ला अदालतले जनाएको छ।

पवन पौडेलले लेख्नु भएको यो समाचार हामीले अन्नपूर्ण राष्ट्रिय दैनिकबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्