RaraNews

जागरण मिडिया प्रकाशित : २०७६/१/५ गते
१६६१ पटक

गुल्मी। झमादी गाउँ, रुरु गाउँपालिका–३ थानपतिको दलित बस्ती हो । त्यहाँ करिब ७० घरपरिवार दलित समुदाय बसोबास गर्छन् । उनीहरू आर्थिक, सामाजिक तथा चेतनाका हिसाबले पछाडि छन् । त्यही गाउँमा जन्मिएका थिए, मदनलाल बस्याल । मदनलालको समयमा गाउँमा विद्यालय थिएनन् । हिँडेर धेरै टाढाको स्कुल पुग्नुपर्ने बाध्यता थियो ।

मदनलालले परदेशमै ४० वर्ष बिताए । त्यसमध्ये १५ वर्ष भारत र २५ वर्ष जापान । दुःखसुख गरेर पैसा पनि राम्रै कमाए । पैसा धेरैले कमाउँछन् । तर, पैसासँगै मन हुने भने कम भेटिन्छन् । मदनलाल पैसासँगै मन भएका व्यक्ति हुन् । जसले गाउँका दलित बालबालिकाका लागि विद्यालय खोले । मदनलालले गाउँ छाडेकै २७ वर्ष भयो । तर, झमादी बिर्सेका छैनन् । उनले बुबा–आमाको नाममा विद्यालय खोलेका छन् । गाउँमै आधुनिक घर छ । उनले बनाएका मन्दिर छन् ।

बुबा प्रेम नेपालीको मृत्यु भएको २६ वर्ष भयो । आमा विष्णुदेवी नेपालीको पनि १४ वर्षअघि निधन भयो । २०७१ सालमा मदनलाल र उनका दाजु मेघलाल बस्यालले आफ्नै लगानीमा नौ कोठे पक्की विद्यालय निर्माण गरेका छन् । विद्यालयको नामकरण प्रेम विष्णुदेवी प्राथमिक विद्यालय गरिएको छ ।

विद्यालयमा ३३ जना विद्यार्थी छन् । पाँच जना जनजातिबाहेक बाँकी सबै दलित विद्यार्थी भएको प्रध्यानाध्यापक जानका ज्ञवालीले बताइन् । विद्यालयमा दरबन्दी, करार र स्थानीय स्रोतबाट गरेर पाँच जना शिक्षक छन् । बस्याल परिवारले विद्यालयमा १० लाखको अक्षयकोष स्थापना गरेका छन् । कोषमार्फत दुई जना शिक्षक राखिएको विद्यालयका प्रध्यानाध्यापक ज्ञवालीले जानकारी दिइन् ।

मदनलाल बस्यालले आफूले शिक्षा, स्वास्थ्य र खानेपानीको क्षेत्रमा अनुकरणीय काम गर्न खोजेको भए पनि सामुदायिक सक्रियता कम पाएको गुनासो गरे ।

हुमाकान्त पोखरेलले लेख्नु भएको यो समाचार हामीले राजधानी दैनिकबाट साभार गरेका हौं ।

प्रतिकृया दिनुहोस्