RaraNews

केपी अनमोल प्रकाशित : २०७५/५/११ गते
२६९६ पटक

धनगढी । असार १२ गते सामुहिक बलात्कारपछि हत्या गरिएकी कैलालीकी माया बिकका परिवारलाई प्रदेश सरकारले रु. ५ लाख राहत दिने निर्णय गरेको छ ।
सोमबार बसेको प्रदेश ७ को मन्त्रीस्तरिय बैठकले पीडित परिवारलाई सो राहत रकम दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्री प्रकास बहादुर शाहले जागरण मिडिया डटकमलाई जानकारी दिनुभयो ।

बलात्कार जस्तो जघन्य अपराधका दोसीलाई हदैसम्मको कारवाही हुन्छ, मन्त्री शाहले भन्नुभयो, “पीडित परिवारलाई सान्त्वना स्वरुप राहत दिने निर्णय प्रदेश सरकारले गरेको छ, अहिले घटेका बलात्कारका घटनाहरुलाई नै अन्तिम घटना बनाउने उदेश्यका साथ अहिले प्रदेश सरकार लागि परेको छ, यस्ता अपराध नदोहोरिउन भन्नका लागि सरकार सचेत छ ।”

कंचनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या भएको बिषयमा आइतबार संघिय सरकारले १० लाख, प्रदेश सरकारले ५ लाख र नगरपालीकाले ३ लाख राहत दिने घोषणा गरेको थियो । तर, कैलालीकी माया बिकको हत्या भएको दुई महिना बित्दा समेत सरकारद्धारा पीडित परिवारलाई राहत दिनेबारे कहिं कतै छलफल सम्म भएको थिएन ।

माया बिकको बलात्कारपछि हत्याको घटना ज्यादै निर्मम र कहालीलाग्दो भएको स्वयम प्रहरी प्रसाशनले बताईरहदा समेत पीडित परिवारलाई कुनै निकायबाट पनि राहत दिइएको थिएन ।

तर, कंचनपुरकी निर्मला पन्तका परिवारलाई मात्रै सरकारले राहत दिने घोषणा गरेपछि माया बिकमाथि विभेद भएको भन्दै चौतर्फी बिरोध सुरु भएको थियो । अन्त:, सोमबार प्रदेश सरकारले माया बिकका परिवारलाई पनि राहत दिने निर्णय गरेको खबरले सरकारले सम्पुर्ण नागरिकप्रती समान ब्यवहार गरिरहेको सन्देश प्रभाव भएको छ । माया बिकको शव गौरीगंगा नगरपालिकाको जंगलमा गत असार १५ गते प्रहरीको खोजविनका क्रमका क्षतविक्षत अवस्थामा भेटिएको थियो ।
घटनाका पाँच जना आरोपितलाई अहिले थुनामा राखि मुद्धा चलिरहेको छ ।

प्रतिकृया दिनुहोस्